प्रधानमन्त्रीबाट आएको राजिनामा लाई कसरी लिनु भएको छ?
नयाँ सरकार बनाउने वातावरण बनेपछि उहाँले राजिनामा दिनु हुन्थ्यो सो अहिले नै गर्नु भएको छ। म त यसलाई स्वभाविक नै दैख्छु।
के अव नयाँ सरकार गठन गर्नको लागि बाटाहरु खुलेको हो त?
न बाटा
बन्द थिए न खुलेको छ। उहाँले संविधानसभाको निर्वाचन पछि संविधानसभाको परिणामको आधारमा अहिले ठूलो पार्टी बनेको नेकपा माओवादीलाई धेरै पहिले नैं संवैधानिक प्रक्रिया पुरा गरी सहमति जुटाएर नयाँ सरकार गठनकोलागि पहल गर्न आवहृान गरीसक्नुभएको हो। त्यस अनुरुप माओवादीमा पहलमा र उपयुक्त तर्कपूर्ण दृष्टिकोणमा कमी, अनावश्यक अनुचित अभिवक्ति र अडान जस्ता कारणले व्यवधान भयो सरकार गठन गर्न। प्रधानमन्त्रीले राजिनामा नदिएकोले सरकार बनाउन ढिलो भएको भन्ने अनावश्यक कुरा हुन्। त्यसता बेतुकका कुरा गर्नुमा कुनै अर्थ छैन।
प्रधानमन्त्रीको राजिनामाले बाटो बन्द गरेको भए सरकार बन्नु पर्ने हो नि आज। प्रधानमन्त्रीले राजिनामा दिनुभयो खोइ सरकार आज बन्ला जस्तो त मलाई लाग्दैन।
तर माओवादीले प्रधानमन्त्रीको राजिनामा नआएकाले सरकार गठन गर्न ढिला भएको बताइरहेका थिए नि?
यो अर्को पक्षले आफूलाई नैतिकवान देखाउने र कोइरालाको नैतिकता गिराउने राजनीतिक उदेश्य वा मनसाय भन्दा पर अन्य कुनै कुरा हैन। राजिनामा दिने र लिने कुनै ठाउँ नै छैन अहिले त्यसैले उहाँले राजिनामा दिन्छु मात्र भनेका छन्। यसको कुनै कानुनी हैसियत छैन।
प्रधानमन्त्रीको राजिनामा स्वुकृति गर्न राष्ट्रपति चाहिन्छ। राष्ट्रपतिको निर्वाचनको लागि संविधान संशोधन गर्नु पर्ने हुन्छ। संशोधनको लागि दुई तीहाइ चाहिन्छ तर मधेसवादी दलहरुले संविधानसभा बैठकमा अवरोध पुर्याउने बताइसकेका छन्। यो अवस्थामा प्रधानमन्त्रीको राजिनामा लिने ठाउँ बनाउन कत्तिको सहज देख्नु हुन्छ?
दलहरुको चुनाव परिणामले संकेत गरेको आकार र हैसियतलाई मान्यता दिने, दलहरुसँग सम्मानजनक व्यवहार गर्ने, दलहरुलाई सहकार्यकालागि सहज र अनुकुल वातावरण निर्माण गर्ने काम हुनु पर्छ। यसो नभइ गाली गलौचमा उत्रिने, हप्की दप्की र धम्कीबाट तहलगाउँछु भन्ने, अपमान गर्ने होच्याउने जस्ता कार्य गर्ने र विगतदेखि हिड्दै आएको सहमति र सहकार्यको बाटोबाट पछि हट्ने हो भने जटिलताहरु अझ थपिन्छन्। र हाम्रा अगाडिका गम्भिर चुनौतिको सामना गर्न गाह्रो हुन्छ। त्यसकारण अहिले पनि सहमति र सहकार्यको बाटो हिड्न जरुरी छ। त्यसकालागि अनुकुल वातावरण निर्माण गर्नु आवश्यक छ।
नेकपा एमाले र माओवादीले मिलेर सहकार्य गर्न लागेकाले विगतदेखिको सहमतिको राजनीति ध्रुविकरण हुँदैछ भन्ने कुरा आइरहेको छ नि?
म पनि त्यस्तै सुन्छु। तर नेकपा एमालेको न नीति त्यस्तो
छ। न निर्णयनै। नेपाली कांग्रेसलाई बाहीर राख्ने भनेको छैन। अहिले संविधान संशोधनको प्रश्नमा छलफल चलेको हो। त्यसमा विभिन्न दृष्टिकोण हुन सक्छ। पार्टीभत्रै पनि पर्याप्त छलफल भएको छैन। धेरै कुराहरु छलफको क्रममा रहेको छ यसलाई ध्रुविकरण भन्न मिल्दैन।
नेकपा एमालेलाई भर्याङ बनाएर माओवादी सरकारमा जान लागेको हो?
मलाई त त्यस्तो लाग्दैन अहिले छलफको क्रम मात्र अगाडि बढेको छ। एउटा आसंकाजन्य कुरा के हो भने व्यापक डेमोक्रेटिक एलाइन्स बाट पुथक हटेर लेफ्ट एलाएन्सका नाममा माओवादी र एमालेको सहकार्य हुने, यसले भोली गएर डेमोक्रेटिक र लेफ्ट एलाएन्स भन्ने दुई पृथक ध्रुवको रुपमा विकास हुने र व्यापक लोकतान्त्रिक एकतामा त्यसले अफ्ट्यारो पार्ने अवस्था होला कि भन्ने आसंका अहिलेका केही व्यवहारहरुले जन्माएको मात्र हो।
खास गरेर नेकपा माओवादीका केहि नेताहरुले कांग्रेसका विरुद्ध संयुक्त ढंगले मोर्चा बनाएर जान नेकपा एमाले र माओवादी सहमत भएका छौ भन्ने झुठो अभिव्यक्ति संचार माध्ययामबाट दिएका हुनाले त्यस्तो प्रभाव परेको हो। तर अवस्था त्यस्तो होइन यो कुराकानीको दौरानमा मात्र सिमित छ।
राष्ट्रपतिको निर्वाचन कसरी हुन पर्छ?
नेकपा एमालेले सहमतिको आधारमा राष्ट्रपति बनाउनु पर्छ भनेको छ। त्यसमा सातदल लगायत अन्य दलहरुको पनि सहमति हुनु पर्छ। राष्ट्रपति भनेको गरिमामय पद हो। त्यसैले यसलाई र्सवाधीक सहमतिका साथ बनाइनु पर्छ भन्ने हाम्रो धारणा हो।
अहिले माओवादीले राजनीतिक व्यक्ति हुँदैन भन्ने गरेका छन्। उनीहरुले कहिले को कहिले को राष्ट्रपति बनाउने भनिरहेका छन्। कहिले कांग्रेसलाई हुँदैन भन्छन् कहिले एमालेलाई हुँदैन भन्छन्। बुढो मान्छे हुँदैन भन्छन् तर हिँड्नै नसक्ने मानिस लिएर
आउँछन्। हारेको मान्छे हुँदैन भन्छन् अनि र्सवाधीक हारेको मानिस लिएर आउँछन्। यसरी उनीहरुले विभिन्न कुराहरु लिएर अगाडि आइरहेका छ। यो ठिक होइन। अन्य पार्टीका नेताहरुको मान मर्यादा नगर्ने हो भने सहकार्य अफ्ट्यारोमा पर्छ।
माओवादीको यस्तो कुरा किन आएको होला त?
चुनाव परिणामको अर्थ के हो भन्ने कुरा माओवादीले बुझेको छैन। माओवादीले अन्य पार्टीले भन्दा केहि मत बढी ल्याउँदैमा ऊ चाहीँ जित्ने पार्टी र अरु सबै हारेको पार्टी हो भन्ने लागेको छ। त्यसैले ऊ यस्ता कुराहरु गर्दै हिडिरहेको छ। तर हामीले ल्याएको जनमत कुनै मानेमा कम छैन माओवादीले मात्र जनमत पाएको हो त?
चुनावको समयमा एमाले र माओवादीबीच हुन लागेको तालमेल के.पी. ओलीको कारणले हुन नसकेको भनिन्छ नि?
त्यो पनि हुन सक्छ। त्यो एउटा अनुमानको कुरा हो। म त्यसवखत विरामी परेको कारणले बैठकमा उपस्थित हुन सकिन। साथीहरुले मेरो उपस्थिति नभएको बेलामा गरेको निर्णय हो यो। म गएको भए तालमेल हुने थियो कि। त्यसै भएर होला मेरो कारणले हुन नसकेको भनेका।
तालमेला नगर्नाले त नेकपा एमालेलाई घाटा भयो नि हैन?
त्यो कुरा मलाई लाग्दैन। खोइ पहिले एमालेले कसैसँग तालमेल नगरेर पनि धेरै मत ल्याएको थियो। त्यस समयमा संगठन दह्रो थियो। बैचारिक हिसाव बलियो थियो। बैचारिक हिसाव कमजोर हुँदै गयो। प्रतिस्पर्धी क्षमता कम हुँदै गयो त्यसैले अहिले कम जनमत आयो। आफ्नो प्रतिस्पर्धी क्षमता उन्नत नगर्ने अनि म्याराथुनमा जाँदाखेरि बैशाखी छुटेछ भनेको जस्तो कुराले हुन्छ- बैसाखी भएको भए म्याराथुन जित्ने थिएँ भनेको जस्तै हो यो।
त्यो तालमेल बैसाखी सरह नै हुने थियो त?
हो त्यो बैसाखी भन्दा केही कम हुने थिएन।
एमाले भित्र तपाइको फरक मत आउने गरेको छ। नयाँ महासचिव चुन्ने समयमा पनि यस्तो भएको थियो। यस्तो किन भएको।एमालेमा दुई धारहरु देखिएको हो?
होइन महासचिवको कुरामा मैले के भनेको हो भने एक महिना अगाडि एउटा महासचिव छान्ने अनि फेरि चार महिनाको लागि अर्को महासचिव छान्ने। यो त पहिलाकोलाई अपमान गरेजस्तो हुन्छ भनेको हो। उहाँलाई नै निरन्तरता दिएर महाधिवेशनबाट नयाँ छान्दा भइहाल्छ भन्ने मेरो कुरा हो। सबैभन्दा महत्वपूर्ण कुरा त स्वविचारी र दिगो ढंगबाट चल्नु पर्छ भन्ने हो।
जहाँसम्म दुइवटा धारको कुरा छ यो धार होइन। विचार हो।

माओवादी र एमाले दुबै कम्युनिस्ट भइकन पनि किन माओवादीलाई तपाइले देखिनसक्नु भएको? आखिर तपाइहरु दुबै कम्युनिस्ट हो होइन र? कम्युनिस्टहरुको त धेरै कुरा पनि मिल्छ।
भन्छन् भन्नेले त कम्युनिस्टको कुराहरु मिल्छ तर मैले बुझेको छैन के के मिल्छ। कम्युनिस्ट नेता यदु गौतमको घाँटी हलाल गरेर छिनाए कम्युनिस्ट हुँ भन्नेहरुले। चक्रटकुरा चौधरी लाई मारे। गुप्त बहादुर विकलाई मारे। उनीहरुले भने अनुसार नगर्ने, उनीहरुको उग्र विचारसँग सहमत नहुने धेरैलाई मारे र अंग भंग बनाए। यस्ता धेरै उदाहरणहरु छन्। स्थायी कमिटिका सदस्य अमृत कुमार बोहोराको तीन बर्ष अगाडि लुटिएको घर र सम्पती अझै फिर्ता भएको छैन। कुटमार, लुटमार र काटमारको एउटा र त्यसो नगरौं भन्ने अर्को। तपाई हरुले मिल्छ भन्नुभएको के मिल्छ थाहा छैन। मिल्न पर्ने हो तर मिलेको छैन।
त्यसो हो भने नेपालमा कम्युनिस्टहरुको एकता हुने संभावना छैन?
संभावना त छ। माओवादी सच्चिनु पर्छ एकता त भइहाल्छ। खुलस्त कुरा के हो भने माओवादी सच्चेको छैन सच्चिनु आवश्यक छ।
माओवादीले त एमालेलाई त कम्युनिस्ट नै होइन भन्ने गरेका छन् नि?
असाध्यै राम्रो। अहिलेसम्म मलाई के भन्न अफ्ट्यारो छैन, भने नाम जे सुकै होस, साइनबोर्ड जेसुकै होस, झण्डा जे जसले जुन सुकै उठाएको होस। माओवादीका विगतका व्यवहार कम्युनिस्ट हो भने म कम्युनिस्ट होइन। मलाई त्यसमा कुनै हिचकिचावट
छैन। यदि म कम्युनिस्ट हो भने माओवादी कम्युनिस्ट होइन।
चितवनको माडी घटना गराउने कम्युनिस्ट हो भने म कम्युनिस्ट होइन, त्रिशुलीमा ढुङ्गा बाधेँर खसाउने कार्य कम्युनिस्ट हो भने म कम्युनिस्ट होइन, रामेछापको गतिविधि कम्युनिस्ट हो भने म कम्युनिस्ट होइन। त्यसकारण माओवादीले आफूलाई कम्युनिस्ट ठानेर एमाले वा के पी ओली कम्युनिस्ट होइन भन्छ भने मलाई त्यसमा कुनै अनौठो लाग्दैन। म त्यो मान्न तयार छु।
हालै एक अतरवार्तामा शक्ति बाँडफाँडको क्रममा दोस्रो रोजाइ कांग्रेसको हुनु पर्छ भन्नु भएको छ। यो किन होला?
चुनावको परिणाममा तीस प्रतिशत ल्याउनेको चाहीँ जनमत हुने पच्चीस प्रतिशत ल्याउनेको चाहीँ जनमत नहुने भन्ने हो र। जनमत त सबैले लिएर आएका छन्। संविधानसभामा आउने पच्चीसवटै दलहरुले आ-आफ्ना हैसियतको जनमत लिएर आएका छन्। बबन सिंह पनि जनमतबाटै आएको हो। के राम्रो नराम्रो भयो भन्ने आफ्नो ठाउँमा छ। तर संविधानसभाको परिणामालाई तपाईले स्वइकार गर्नु भएको छ भने सबैलाई जनादेश मान्नु पर्छ।
नेकपा माओवादी प्रथम पार्टी हो भने दोस्रो नेपाली कांग्रेस नै हो। स्मरण रहोस बहुमत माओवादीको पनि छैन। केहि बढी सिट मात्र आएको हो। दुःखद कुरा हो एमाले प्रथम पार्टी हुनु पर्ने हो तर भएन। यथार्त के हो भने एमाले तेस्रो पार्टी हो। अहिले मओवादीलाई दोस्रो भएको पार्टीलाई मान्दिन भन्न मन लाग्यो भन्दैमा हुन्छ। चुनावको परिणामा आफ्नो चाहीँ परिणाम हो अरुको होइन भन्ने -
पहिलो पार्टी दोस्रो पार्टी भएर आएको छ भने कसको अनुहार राम्रो छ। को तन्देरी छ, भन्ने कुरा होइन। यदि राजनीतिमा जाने हो भने राजनैतिक कुरा गर्नु पर्छ। कसैलाई मान्छु वा मान्दिन भन्दाको परिणाम त मधेसवादी दलहरुले हिजोको संविधानसभाको बैठकमा देखाइदिए। यदि बैठक नै चलाउन नसक्ने हो भने उनीहरुसँग संवाद गरेर जानुपर्ने हो नि। उनीहरुलाई सहमत गराउन पर्ने हो नि।
त्यसैगरी अन्य दलहरुको यो मान्छौ यो मान्दैनौ भन्ने। अरुलाई नगन्ने। आफ्नो अहंकार देखाउने गरेर हुदैन। सबैको जनमतलाई सम्मान गरेर सबै पार्टीलाई उसको जनमत अनुसार ठाउँ दिएर सहमतिलाई अगाडि बढाउनु पर्छ।
नयाँ सरकार बनाउनका लागि संवैधानिक अफ्ट्याराहरु के के हुन सक्छन्?
अलिकति समय त लाग्छ सरकार बनाउन। तर म यसमा कुनै संबैधानिक समस्याहरु देख्दिन। सरकार छदै छ, चलिराख्छ। नयाँ सरकार बन्न केहीदिन लाग्ने मात्र हो।
अन्तमा, नेपाललाई यो स्थितिबाट अगाडि बढाउन के गर्नु पर्छ। नेपाललाई सम्मुनत बनाउन के गर्नु पर्छ जस्तो लाग्छ?
हामीले समझदारी, सहमति र सहयात्राका साथ निकै लामो बाटो पार गरेका छौँ। हामी २४० वर्षदेखिको राजतन्त्र समाप्त
गरेर लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका छौँ। हामी शक्तिको बाँडफाँड गर्दै नेपाललाई संघिय ढाँचामा लान्छौ भनेका छौँ। केन्द्रीकृत होइन विकेन्द्रीत, कसैको डोमिनेसन नभएको,
निरपेक्ष समतामूलक नेपालमा जान्छौँ भनेका छौँ। नयाँ संविधानमा नयाँ नेपालको खाका कोर्दै नयाँ नेपाल बनाउछौ भनेका छौँ।
हाम्रा अगाडि गहन अभिभाराहरु छन्। हाम्रा अगाडि चुनौति र जटिलताहरु धेरै छन्। जटिलताको एक झलक बिहिबारको संसदमा पनि देखिसकेको छौँ। त्यो एउटा संकेत हो। त्यसो हुनाले यो जटिलताहरुलाई फुकाउँदै गहन अभिभारा पूरा गर्नु छ। हामी एकजुट भएर अगाडि जान जरुरी छ। त्यो एकजुट भनेको व्यापक लोकतान्त्रिक एकाताका साथ अगाडि बढ्नु हो।
हामीले शान्ति प्रकृया टुङ्गाएका छैनौ। शान्ति प्रकृया बीच बाटोमा छ। सेना र हतियारको कुरा टुङ्गएिको छैन । माओवादी सरकारमा जाँदैमा सबै समस्या समाधान हुन्छ भन्ने छैन।
हामी गन्तव्यमा पुगेका छैनौँ। हाम्रो गन्तव्य यहि हो भनेर कसैले भन्छ भने अथवा सरकार बनाएपछि हाम्रो गन्तव्यमा पुगियो भनेर कसैले भन्छ भने त्यो भ्रम हो। त्यो एउटा सिडि हुन सक्छ। गन्तव्य लोकतान्त्रिक र शान्तिपूर्ण नेपाल हुनुपर्छ। गन्तव्य असमानता र भेदभाव हटाइएको समतापूर्ण नेपाल हुनु पर्छ। गन्तव्य राष्ट्रिय एकाता सहितको अखण्ड नेपाल हुनुपर्छ। गन्तव्य अभिभाजित नेपाल हुनुपर्छ। नेपालबाट गरिबी समाप्त पारिनु पर्यो। सम्पन्न नेपाली जनताको संबृद्ध नेपाल हुन पर्छ। यिनै हुन हाम्रा गन्तव्य। यो गन्तव्यमा पुग्न धेरै यात्रा बाँकी छ। त्यसैले यात्राको सुरुमा नै ठूलो उपलब्धी हाँसिल गरेँ भन्ने ठानेर मलाई कसैको आवश्यता पर्दैन, कसैको साथ चाहिएन, म एक्लै सबै काम गर्न सक्छु, मैले चमत्कार गरेँ, मसँग चामत्कारीक क्षमता रहेछ भनेर कसैले चमत्कारको भर परेर एक्लै अगाडि बढ्न खोज्छ भने त्यो मुर्खतापूर्ण हुनेछ। यस तर्फ सबैको हेक्का रहोस भन्न म चाहान्छु।
-सुदिप ë
;ामिछाने