अब बन्ने सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्छ भनेर तपाईका पार्टी नेताहरुले किन भनेका? के त्यो संभव छ?
काँग्रेसको प्रधानमन्त्री हुनुपर्छ भनेर हामीले कहिलेपनि भनेका छैनौं। अहिले प्रधानमन्त्रीको दायित्व राष्ट्र प्रमुखको पनि छ। त्यसैले
गर्दा संविधानसभाको पहिलो बैठक बोलाउने कर्तव्य पनि उहाँको छ। त्यसैले प्रधानमन्त्रीले सरकार बनाउन गृहकार्य गर भनेर पार्टीलाई भनिसक्नुभएको छ। अहिले नेपाली काँग्रेसले सरकार बनाउनु पर्छ भन्ने हाम्रो मन्यता छैन। तर विधिवत सहमति गरेर आउनु पर्यो। वर्तमान प्रधानमन्त्री .........
भनेपछि अरु दल सहमत भएनन् भने गिरिजा बाबुले सरकार नछोड्ने ?
त्यो त बाध्यता नै छ नि। गिरिजा बाबुले कसलाई छाड्ने? छोड्ने ठाउँ त रहन पर्यो नि!
संविधान सभाको पहिलो बैठकमा छोडे भइहाल्यो नि। तपाईले छोडे पछि अरु दल मिलेर बनाउलान्?
त्यो बनाउनलाई त बाटो प्रसस्त गरिसक्नु भएको छ प्रधानमन्त्रीले। विज्ञाप्ति जारी गरेर उहाँले आव्हान गरिसक्नु भएको छ। अहिले त सहमतिको लागि माओवादीहरुले नै पहल गर्नु पर्ने हो।
भनेपछि माओवादीको नेतृत्वमा सरकार बनेमा तपाईहरुलाई कुनै आपत्ति हुँदैन?
हामीहरुलाई केही आपत्ति छैन। माओवादी बुलेट छोडेर ब्यालेटमा आएको छ। यो लोकतन्त्रको विजय हो। माओवादी अहिले ठुलो पार्टी बन्यो भन्ने कुरा आफ्नै ठाउँमा छ। म एउटा कुरा भन्न चाहान्छु माओवादीको लहर आएर जितेको भन्ने कुरामा म मान्न तयार छैन। अहिले उहाँहरुलाई ठुलो पार्टी मनेका छौ। ठुलो पार्टीले प्रमुख कर्तव्य हो सबै दलहरुसँग सहमतिका लागि कुरा गर्ने। धेरै कुरा पुरा गर्न बाँकी छ माओवादीले। ती कुरा पुरा गर्यो भने मात्र सरकारमा जाने नजाने विषयको कुरा आउँछ।वाइसएलले प्रहरीको काम गरिरहेको छ, त्यसो हुनु भएन। वाइसीएल विघटन हुन पर्छ। जन सेनाको चिफलाई राष्ट्रप्रमुख अथवा प्रधानमन्त्री बनाउन हुन्छ कि हुदैन भनेर अहिले व्यापक रुपमा चर्चा चलिरहेको छ। माओवादीसँग छुटै सेना छ।हामी सरह बन्न त त्यो सेनाको व्यवस्थापन गर्नु पर्यो, हतियारको पनि व्यवस्थापन गर्नु पर्यो। यी कुराहरु पूरा भएपछि मात्र हामी सरकारम बसेर सहयोग गर्ने कि , बाहिर रहेर सहयोग गर्ने भन्ने कुर आउँछ। हामी सहयोग गर्र्छौ तर सहयोग लिने वातावरण त उहाँहरुले बनाउनु पर्छ।
के कारणले गर्दा काँग्रेसले संविधान सभा निर्वाचनमा पराजित हुनु पर्यो?
मैले आत्म आलोचना गर्नै पर्छ। काँग्रेस कै प्रधानमन्त्री हुनुहुन्थ्यो, काँग्रेस कै गृहमन्त्री हुनुहुन्थ्यो। तर हामीले शान्ति सुरक्षा दिन सकेनौ। जनतालाई भय मुक्त बनाउन सकेनौं। जनताको मनबाट डर त्रास झिक्न सकेनौं। जनतालाई लाग्यो माओवादीले हारे पछि फेरि जंगल पस्छन्, फेरि चन्दा दिनु पर्छ, भात खुवाउनु पर्छ। फेरि हाम्रा पढ्दै गरेका बालबच्चाहरु मार्छन्, इत्यादी। यस्ता किसिमका मनोवैज्ञानिक त्रास सरकारले हटाउन सकेन। मेरो पार्टीको प्रधानमन्त्री र गृहमन्त्री भएकाले मैले आत्मआलोचना गर्नै पर्छ। हामीले माओवादीलाई यति दियौ कि, सुनको किस्तीमा अत्तर र्छर्केर सरकारको कुर्ची उहाँहरुलाई दिने परिस्थिति आयो।
अब माओवादी नेतृत्वको सरकार बन्यो भने त्यो कत्तिको प्रभावकारी होला?
हर्नुहोस्, यो मुलुकमा माओवादीले धेरै सपनाहरु बाँडेको छ। यो मुलुक विखण्डन तिर जाँदै छ।यो मुलुक चार जात छत्तिस बर्णको फुलबारी भनेर एक आपसमा मिलेर बसेका थियौं।तर अहिले माओवादीले विल्कुल विभक्त गरिदिएको छ। विभिन्न जातजातिको नाममा परदेश छुट्याइदिएको छ। त्यही कुरालाई समातेर उता- तर्राईमा) समग्र मधेश एक प्रदेश भनेका छन्। यो मुलुकलाई टुक्रा टुक्रा गराउने जुन हिसाबले षडयन्त्र भइराखेको छ, यसलाई हामी सबै मिलेर बचाउन आवश्यक छ। यो बचाउने कुरामा नेपाली काँग्रेस प्रतिवद्ध छ। जस्तो सुकै तितो सहेर पनि नेपाली काँग्रेस यो देश बचाउने वाला छ। जुन अवस्था हामीहरुले भोग्नु परेको छ। यो असाध्य दुर भाग्य पूर्ण छ। यो देशलाई धकेल्दै धकेल्दै खाल्टोको नजिक पुर्याइएको छ। यसलाई जोगाउन राष्ट्रिय सहमतिको आवश्यक छ।
माओवादीले किन यस्तो गरेका होलान् त?
मान्छेहरुलाई युद्धमा तान्न, व्रि्रोही बनाउन, भोट तान्न माओवादीले यसो गरेको हुनुपर्छ।
नेपाली काँग्रेस अझै पनि राजतन्त्र जोगाउन खोज्दै छ भन्ने आरोप पनि तपाईको पार्टीमाथि लाग्ने गरेको छ नि?
नेपाली काँग्रेस पूर्णरुपमा गणतन्त्रवादी छ। पार्टी एकिकरण पछि महासमितिको भेलाले गणतन्त्रमा जाने निर्णय गरिसकेको छ। नेपाली काँग्रेस बहुदलीय लोकतान्त्रिक संघिय गणतन्त्रमा सय प्रतिशत जान्छ। यहाँ नेपाली काँग्रेस गणतन्त्रमा जाँदैन भन्छन्। तर यो झुठा हो। नेपाली काँग्रेस संविधान सभाको पहिलो बैठकबाट नै राजालाई बिदा दिने कुरामा प्रतिवद्ध छ। पहिलो बैठकबाट राजालाई बिदा दिने भन्नुभयो। कुन बैठकलाई पहिलो बैठक भन्ने?
पहिलो दिनको पहिलो बैठकलाई भन्न खोजिएको हो कि पहिलो अधिवेशनलाई भन्न खोजिएको हो - कि अरु केही पो हो कि?
त्यो त समझदारीले गर्ने कुरा हो। पहिलो बैठकमा त सपथ ग्रहण हुन्छ। संविधानसभाको अध्यक्ष, उपाध्यक्षको चयन हुन्छ। बल्ल बैठक बोलाइन्छ।
गणतन्त्रको कुरा गर्दा करिब एक डेढ वर्षअघि तपाईले राजालाई पहिलो राष्ट्रपति बनाउने कुरा अगाडि सार्नु भएको थियो, अहिले त्यसको सान्दर्भिकता सकिएको हो?
मैले त्यस्तो धारणा दिएको दुई वर्षअगाडि हो। त्यो बेला त्यसो गर्न सकेको भए धेरै राम्रो हुने थियो। तर अहिले बाग्मतीमा धेरै पानी बगिसक्यो। अब त्यसो गर्न सकिंदैन। त्यसो गरेको भए विना रक्तपात, सम्मानजनक विदाइ हुनेथियो। त्यो त्यतिबेला उपर्युक्त थियो र अत्यन्त सजिलोसंग राजतन्त्रको अन्त्य पनि हुने थियो। गणतन्त्र सजिलै आउने थियो।
राजालाई नारायणहिटिबाट जबर्जस्ती हटाउन खोज्दा त भिडन्तको स्थीति पनि त उत्पन्न हुन सक्छ, त्यसको संभावना कत्तिको देख्नुहुन्छ?
राजाको गतिविधि हेर्दा उनी सजिलै जालान् जस्तो लाग्दैन। तर तनाव हुनु हुदैन। त्यही तनाव नहोस भनेर मैले २ वर्षपहिले नै उपाय निकालिदिएको थिएँ। त्यो मानेको भए अहिले अत्यन्तै सहज तरिकाबाट राजा दरवार छोडेर निर्मल निवास गइसक्थे।
पहिलेको तुलनामा नेपाली काँग्रेस र एमालेले अहिलेको संविधान सभा निर्वाचनमा निकै नराम्रो पराजय भोग्नु पर्यो - यो पराजयको कारण के हो ?
२२ प्रतिशत मत हामीले पाएका छौ। यो कुनै 'जोक' होइन। दिगो शान्ति रहन सक्यो भने आगामी चुनावमा यसको दोब्बर मत ल्याउन हामी सक्छौ। हाम्रो पराजयमा पनि धेरै कुराहरु छन्। शान्ति सुरक्षाको कुरा त मैले भनिसकेँ। अर्को कुरा, हाम्रो पार्टीसभापति राष्ट्रप्रमुख पनि भएको कारणले उहाँले कुनै पनि पार्टीलाई भोट माग्दिन भनेको कुरा प्रकाशमा आयो। उहाँ कहीं पनि हिड्नु भएन। गिरिजाबाबुको एउटै लक्ष्य थियो, जीवनकालमो संविधानसभा निर्वाचन सम्पन्न गर्ने। त्यसैले गर्दा उहाँ पार्टीभन्दा माथि उठेर काम गर्नु भयो।उहाँले आफुलाई प्रधानमन्त्री र राष्ट्रप्रमुख मात्र नठानेर पार्टीको सभापति पनि हो भन्ने कुरा भुलिदिनुभएकाले केही साथीहरुले अत्यन्त कम मतले हार्नुभयो। तर आफ्नो नेतृत्वमा निर्वाचन गराएर, पार्टीको पोजिसन यो अवस्थामा गराएर पनि उहाँ सफल हुनु भयो। यस कुरामा हामी सबैले उहाँलाई धन्यवाद दिनैपर्छ।
चुनावको परिणाम पछि पार्टीमा राजिनामाको लहर नै चल्यो। एमाले महासचिव माधव कुमार नेपालको राजिनामा स्वीकृत भयो । तर तपाईको पार्टीमा सुशिल कोइरालाको राजिनामा अस्वीकृत भयो। के सुशिल कोइराला विना तपाईको पार्टी नचल्ने हो?
मैले पनि उहाँले राजिनामा दिएको र स्वीकृत नभएको दुवै कुरा अखबारमा नै पढेको हो। उहाँको राजिनामा आधिकारिक रुपमा हाम्रो पार्टीको कार्य समितिमा आएको छैन। विधिवत रुपमा आयो भने हामीले प्रकृया बढाउने कुरा आउँछ।
नेकपा एमालेका महासचिवले राजिनामा दिनु र उहाँको स्वीकृत हुनु, उहाँले जिम्मेवारी लिनु अत्यन्त राम्रो कुरा हो। तर उहाँहरुले प्रधानमन्त्रीलाई चाहिँ तपाईले राष्ट्रप्रमुखको पनि भुमिका निभाउनु भएको छ, राजा पनि नभएको अवस्था छ। यस्तो अवस्थामा यो सबै सेफ ल्यण्डिङ नगराएसम्म, संविधानसभाको पहिलो बैठक नबोलाएसम्म र कुन पार्टीले सरकार बनाउने भन्ने निश्चित नभएसम्म तपाईले छोड्न मिल्दैन भन्ने तर त्यही मन्त्रीपरिषद्बाट आफ्ना मन्त्रीहरुलाई भने फिर्ता बोलाउने- त्यो चाहे बुद्धिमानी होइन। गिरिजाप्रसादलाई नछोड भन्नेले उहाँलाई त्यो अवस्थासम्म साथ दिनु पर्छ।
अब स्याङजा तिर जाउँ, तपाई स्याङजा १ नम्बर क्षेत्रको मान्छे, सुरक्षित भएकाले जहिल्यै २ नम्बरमा आएर चुनाव लड्छ भनेर काँग्रेसकै कार्यकताले तपाई माथि आरोप लगाउँछन्। किन त्यहींका नेतालाई ठाउँ नछोडिदिनु भएको?
म नेपालको हो। पूर्व मेची देखि पश्चिम महाकालीसम्मको हो। यो कर्म गर्ने कुरा हो। यो राजनीति नबुझ्ने मान्छेले भन्ने कुरा हो। के प्रचण्ड रोल्पाको हो? काठमाडौं १० को हो? चुनाव पूर्व हो, व्यक्ति होइन। अब मलाई एकको मान्छे दुईमा गएर चुनाव लड्यो भन्नुहुन्छ भने दुईको कमल पंगेनी भाइलाई एकबाट उठाएको छ।
हो, मैले पनि यही भन्न खोजेको। असुरक्षित एकमा चाहिँ अरुलाई नै पठाएर सुरक्षित दुई नम्बर क्षेत्रबाट तपाई उठ्नुभयो ....
होइन, होइन । स्याङजामा चार क्षेत्र हुँदा म एक नम्बरबाटै लडेको थिएँ। अहिले पनि हुनुपथ्र्यो तर भएन। पछि क्षेत्र विभक्त हुँदा परिस्थितिले मलाई त्यहाँ पुर्याएको हो।
त्यो कस्तो परिस्थिति हो? बताइदिनुस् न।
हेर्नुहोस्, म पञ्चायतकालिन कालरात्रीमा स्याङजामा संगठन गरेको मान्छे। संगठनको मुल कर्ता नै थिएँ। मैले तीन नम्बरको विर्घाम गएर संगठन गर्दा त तँ एक नम्बरको किन तीनमा संगठन गर्न आइस् भनेर त कसैले भनेन। यसपालि त झन् दुई नम्बर क्षेत्रका जनताले मलाई हेर्नुहोस् है गडबड गर्नूहोला, फेरि एक नम्बरमा जानुहोला भनेर सचेत बनाए।