चैत्र २८ गतेको संविधान सभा निर्वाचन तपाईं कत्तिको सुनिश्चित देख्नुहुन्छ ?
अब त अर्को बाटै छैन।चुनाव त हुनै पर्छ।चुनावका लागि जे जति बाधा छन् तिनलाई पनि हटाउनु पर्छ।
सत्तारुढ दलकै कार्यकर्ताहरु बीच कुटाकुटको स्थीति छ, यसले चुनाव रोक&
#2381;ने हो कि भन्ने आशंका त छ नि जनतामा?
यसले नकारात्मक असर त पार्छ नै।तर रोग लाग्दैमा मान्छे मरिहाल्छ भनेर सोच्ने किन? यो रोग हो, यसको उपचार गर्नु पर्छ। मुठभेडको जो स्थीति पैदा भएको छ त्यसलाई रोकेर स्वच्छ प्रतिस्पर्धाको चरणमा फिर्ता ल्याउनु पर्छ।तर चुनाव त हुनुपर्छ, हुन्छ।
हामी हुनुपर्छ त भन्छौं तर के कमजोरीका कारण यस्तो भइराखेको छ त ?
कमजोरी सरकार र तीन पार्टीको नेतृत्वमा छ।
तीन पार्टीको किन? सरकार त सात पार्टीको छ नि?
सात पार्टी औपचारिका रुपमा भन्ने मात्र त हो।सबै काममा त तीन पार्टीकै प्रमुख छन् नि।अरु चार पार्टीलाई दोष दिएर काम छैन।न तिनीहरुले चुनावको वातावरण बिगार्न सक्छन् न त्यति बनाउन सक्छन् जति सरकारले गर्न सक्छ।काँग्रेस, एमाले, माओवादीले गर्न सक्छन्।हरेकको आफ्नो शक्ति अनुसारको क्षमता हुन्छ।
चुनाव पछि गणतन्त्र घोषणा हुने कुरा पनि आइरहेको छ।राजा सहजै आफ्नो गद्दी छाडेर जालान् त ? कत्तिको संभव देख्नुहुन्छ त्यो कुरा?
किन नजाने राजा? अहिल्यै जानुपर्ने, किन बसिराखेका छन्? मैले बुझ्न सकेको छैन।किनभने काँग्रेस, एमाले, माओवादी गणतन्त्रमा गइसके।संविधान सभाको चुनावमा बहुमत आउने पनि यिनै दलको हो।त्यो त प्रष्टै छ।त्यसकारण राजा ज्ञानेन्द्रको सामु अर्को विकल्प नै छैन।२०६२/०६३ सालको आन्दोलनले पनि जनता राजा ज्ञानेन्द्रले यो देशको राज्य सञ्चालन गर्ने कुराको विपक्षमा छन् भन्ने प्रष्ट पारेको छ।राजा ज्ञानेन्द्रको कारण राजसंस्था अब विदा हुँदैछ भन्ने निश्चित भएको छ।त्यसैले नजाने भन्ने त कुरै छैन।प्रधानमन्त्रीबाट हटिसकेपछि बालुवाटार छाड्दिन भनेर हुन्छ? नारायणहिटी त राष्ट्र प्रमुखको ठाउँ हो।राज्य सञ्चालनमा नभएपछि त पहिल्यै छोडिदिनु पर्ने हो।यसमा अचम्म मान्नु पर्ने के कुरा छ?
तर राजाका यस अगाडिका वक्तव्यले त उनी सजिलै नजाने कुरालाई संकेत गर्दैन र ?
त्यहि पनि केहि ठाउँ छ कि भनेर उनले छामेका हुन् तर पनि त्यो असफल भयो।
नेपालको राजनीतिमा विदेशीको व्यापक प्रभाव छ भन्ने मान्नुहुन्छ ?
अँ, यहाँ विदेशीको चलखेल छ।
तर भारतको विजेपी पार्टी अध्यक्ष लालकृष्ण आडवाणीले त नेपालमा राजा चाहिन्छ भनेर वक्तव्य नै दिएका छन्।नेपाली राजनीतिमा त्यसको कुनै प्रभाव नपर्ला र?
विजेपी त विदेशी होइन नि! त्यो त विदेशमा रहेको एउटा पार्टी हो।हामी त विदेशी भन्नाले सरकारको कुरा गरिरहेका छौं।विजेपी त सरकारमा छैन नि, त्यसको के अर्थ भयो र?
के त्यसको केहि प्रभाव नै नहोला त?
त्यसो त विजेपीसँग सम्बन्ध भएका राजनीतिक शक्ति पनि यहाँ छन् ।कम्युनिष्ट पार्टीसँग सम्बन्ध भएका पनि छन्।माओवादी पार्टी यहाँ पनि छ, यहाँ पनि छ।आफ्ना आफ्ना भाइचारा सम्बन्ध छन्।तर देशको तर्फबाट बोल्ने अधिकार त त्यहाँको सरकारलाई मात्र छ नि ।त्यहाँको सरकारले के भनिरहेको छ भन्ने कुरा मात्र हो।
पार्टी बीच चुनावी तालमेलको कुरा पनि जारी छ।तर यदि तालमेल भएन भने संविधान सभामा आउनै पर्ने मान्छे पनि छुट्ने संभावना देखिएको छ।यसले शान्ति प्रक्रियालाई नकारात्मक असर गर्दैन र ?
होइन, पार्टीले त प्रतिस्पर्धा नै गर्ने हो नि।यदि तालमेल गर्ने हो भने पार्टीभन्दा बाहिर रहेकालाई साझा उमेद्वार मानेर तालमेल गर्नु पर्छ। नेताहरु प्रतिस्पर्धा नगरुन् भनेर तालमेल गर्नुको कुनै अर्थ हुँदैन।नेता त जनताले रुचाउँछ कि रुचाउँदैन भनेर परिक्षणको लागि पनि प्रतिस्पर्धामा जानु पर्छ।सजिलैसँग जाने हो भने निर्वाचन नै किन गराउनु पर्यो? त्यस्तो पनि तालमेल हुन्छ? प्रचण्ड र बाबुरामलाई किन संविधान सभामा जानु पर्यो? जबकी उहाँ अन्तरिम संसदमा जानुभएन र पनि महत्वपुर्ण भुमिका निर्वाह गर्नुभयो।आफ्ना प्रतिनिधिलाई निर्देशित गरेर उहाँले आफ्नो भुमिका त प्रमाणित गरिदिनु भयो नि।
वाइसीएल अराजक भयो भनेर अहिले देशमा यति धेरै आलोचना
भइराखेको छ।यदि प्रचण्ड संविधान सभामा नजाने हो भने त
अराजकताको स्तर त अझै बढ्ला नि ?
होइन, जानुस्।तर प्रचण्ड र बाबुरामलाई जसरी पनि लग्नुपर्छ भन्ने अवधारणालाई त उहाँहरुले नै काट्नु भयो।किनभने अन्तरिम संसद पनि त महत्वपूर्ण थियो, जानुभएन। जानुस् तर चुनिएर जानुस्। विभिन्न हथकण्डा प्रयोग गरेर तालमेल त्यो पनि जबर्जस्तीको गरेर जानु राम्रो देखिदैंन मात्र भनेको।
तपाईं वाइसीएल अराजक हुनुको कारण के देख्नुहुन्छ ?
यो राजनीतिक पार्टी हुन नसकेको हो, नसुध्रिएको हो।रुपान्तरित हुन नसकेको हो।जस्तो काँग्रेस, एमालेको विकृति, विसंगतिको पुरानो धङधङी बाँकी छ, त्यस्तै माओवादीले पनि मुढे बल, पाखुरे बल , सैन्य बल प्रयोग गरिरहेका छन्।आफ्नो जनयुद्धकालिन स्वभावलाई परिवर्तन गरेका छैनन्।त्यो नराम्रो हो, त्यसले उनीहरुलाई नै घाटा पुर्याउँछ।राजनीतिका पार्टीको रुप देखिएन।उनीहरु रुपान्तरित हुनु पर्छ।
हिजो तपाईंहरु आन्दोलनको बेला सडकमा निस्किएर टाउको फुटाउनु भयो तर आज त राजनीतिक दलहरुले तपाईंहरुलाई वेवास्ता गरे नि ?
तपाईं त गजबको कुरा गर्नु हुन्छ बा! त्यहाँ जसले ढुङामुढा खाए, गिरफ्तारी दिए ,त्यसको बदला तिनीहरु व्यवस्थापिकामा जानुपर्ने हो ? त्यसको निम्ति आन्दोलन गरेको हो र? त्यो राजनीतिक उपलब्धीको लागि हो जुन प्राप्त भइसक्यो।ज्ञानेन्द्र थन्को लाइसके, देश गणतन्त्रमा गइसक्यो।यत्रो परिवर्तन आयो।मैले के पाएँ भन्ने हो भने त त्यो व्यापार हो।
तर संविधान बनाउने कुरामा त विशेषज्ञको व्यापक सहभागिता हुनुपर्ने हो नि, होइन र?
त्यहाँ जानेले मात्र संविधान बनाउने हो र? यदि त्यसो हो भने त राम्रो भएन।उनीहरुले त अरुलाई पनि समेट्नु पर्दछ, सल्लाह लिनु पर्छ।सबै त जान सक्दैनन् नि।आन्दोलनको व्याज खान त्यहाँ जाने हो र? आन्दोलनमा भुमिका एउटा कुरा हो, व्यवस्थापिका अर्को कुरा हो।
हामी बाहिरै रहेर पनि सल्लाह सुझाव दिन सक्छौं भन्नुभएको हो?
सक्छौं, तर यिनीहरु (राजनीतिक दल) सोध्दैनन्........
मैले सोध्न खोजेको कुरा पनि त्यही हो।संविधान सभामा तपाईंको प्रवेश भएको भए त संविधान बनाउने कुर&;#2366;मा तपाईंको प्रत्यक्ष सहभागिता रहन्थ्यो।तर अब त सोध्छन् कि भनेर आशा मात्र राख्नुपर्ने भयो।
मैले बहुदलिय व्यवस्था पनि मान्ने अनि म कुनै पार्टीमा नभएको मान्छेले मलाई त्यहाँ राखिदेउ भन्न त सुहाएन नि।उनीहरुलाई चाहिएको पनि छैन।मुलुकमा भएका प्रतिभालाई, क्षमतालाई, ज्ञानलाई प्रयोग गर्न सक्नुपर्छ यहाँ त नेतृत्व तहलाई कोही क्षमतावान् मान्छे नजिक आइदियो भने कहीं आफ्नो भाग खोसिन्छ कि भन्ने डर छ। उनीहरुलाई त हवस् भन्ने मान्छे मात्र चाहिन्छ।अब त्यो संस्कृतिबाट मुक्त हुनुपर्छ।
अन्तरिम संसदले देश संघिय हुने घोषणा गरिसकेको छ तर त्यसको विरोधमा पनि आवाजहरु निस्किएका छन्।तपाईंले सोच्दा यो सानो मुलुकमा संघियता कति उचित हो ?
यो विषयमा हामी गहिरिएर छलफल गर्नु पर्छ।देशको एकता , अखण्डतालाई र देश भित्रका जनताको विभिन्न समुहहरु बीचको सद्भाव, बन्धुत्व, मित्रता, भातृत्व लाई खल्बल्याउने किसिमले होइन कि मिलाएर लानु पर्दछ।
नेपालमा संघियताको आधार के हुन सक्छ?
मेरो विचार सोध्नुहुन्छ भने दुई वटा मात्र आधार छ- एउटा लोकतन्त्रको आधार।देशका नागरिक के गरी अधिकार सम्पन्न हुन्छ ? त्यसमा ध्यान दिनु पर्दछ।लोकतन्त्र कमजोर हुने गरि देशको विभाजन हुन सक्दैन।दोश्रो, सम्वृद्धिको आधार।मुलुक के गर्दा सम्वृद्ध हुन्छ? मुलुकका सम्पूर्ण क्षेत्र सम्वृद्ध हुन्छन्।मुलुक समावेशी हुनु पर्दछ।एकातिर सम्वृद्धि अर्को तिर गरिबी हुनु हुँदैन।
खुला सिमानाको कारण नेपालको तराई क्षेत्रमा हिंसा बढेको कुराहरु पनि उठ्ने गरेको छ, मान्नुहुन्छ ?
होइन कतिपय घटनामा नेपालबाट मान्छे अपहरण गरेर उता(भारत) मा लगेर राखेको छ भनेर त तपाईंहरुले नै लेख्नुभएको छ।हामीले त तपाईंहरुलाई पत्याउने हो।सीमा पारिबाट नेपालमा प्रहार हुन्छ, उता योजना बनाएर यता विष्फोट हुन्छ।यसो भयो भन्दैमा हामीले भारत
सरकारले गरेको त भनेका छैनौं नि।सीमा पारिबाट नेपालको अखण्डतामा जसरी प्रहार भइराखेको छ, त्यो त हामीले रोक्न सक्नु पर्दछ।अनि भारत नेपालको मित्र देश हो भने उसले पनि त आफ्नो भूमि नेपाल विरोधी गतिविधिमा प्रयोग हुन दिनु भएन नि।
- नारायण भण्डारी