SN. राजनीतिमा सक्रिय देखिनु हुन्न। अहिले के गर्दै हुनुहुन्छ?
अरू केही पेशा नभएपछि राजनीतिमा नै छु भन्नुपर्यो।
SN . राजतन्त्र निरपेक्ष रहने पार्टी निर्णयप्रति तपाईं असन्तुष
्ट हुनुहुन्छ भनिन्छ, यथार्थ त्यही हो?
अब हेर्दै जाउँ। पार्टीमा विभिन्न किसिमका विचार हुन्छ। सक्रिय राजतन्त्रको पक्षमा त हामी छैनौं। राजाले शासनसत्ता सम्हालेको बेलामा पनि मैले बारम्बार सक्रिय राजतन्त्र हुनु हुँदैन भनेको थिएँ। अहिलेको परिस्थितिमा पार्टीभित्र प्रतिकात्मक राजतन्त्र रहँदा मुलुकलाई फाइदा हुन्छ भन्ने मेरो व्यक्तिगत विचार हो। हाम्रो पार्टीमा गणतन्त्र पनि छैन। गणतन्त्र हुँदैमा सबै समस्या समाधान हुने पनि होइन। तर, संवैधानिक राजतन्त्रप्रति प्रतिबद्धता नगरेकोले मिडियाले आफ्नो हिसाबले व्याख्या गरिदिन्छ। गणतन्त्र जस्तो ठूलो निर्णयका लागि जनतामा नै जानुपर्छ। जनमतसंग्रहबाट निर्णय हुनुपर्छ भन्ने कुरा उठेको थियो। यो निर्णय पारदर्शी ढंगले गर्ने भन्ने प्रतिबद्धता छ, अध्यक्ष लगायतको।
SN. महाधिवेशनको त्यो निर्णयप्रती तपाईं सन्तुष्ट कि असन्तुष्ट?
असन्तुष्ट भन्न मिल्दैन। पार्टी राजतन्त्र' र गणतन्त्र' दुवैप्रति निरपेक्ष छ। असन्तुष्टको कुरा छैन।
राजतन्त्र निरपेक्ष रहने ढुलमुले नीति लिएर संविधानसभामा जादा प्रत्युत्पादक हुदैन?
अधिवेशनले संविधानसभामा जाँदाखेरि त्यसमा सुधार गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको छ। सो अनुसार हामी अगाडि बढ्छौं। राजसंस्थाको उपस्थिति मुलुकका लागि हितकर हुन्छ भन्ने पक्षमा नै पार्टी कार्यकर्ताहरू छन्।
SN. संवैधानिक राजतन्त्रको एजेण्डा लिएर जाने हो?
यो पनि मैले भनिन। थपना जस्तो भए पनि राजसंस्थाप्रति हाम्रो झुकाव चाहि हुनसक्छ। त्यो हेर्दै जानुपर्छ।
SN. अन्तरिम संविधानले गरेको निर्णय मान्ने महाधिवेसनको निर्णय विपरीत किन संशोधनको बेला पार्टीले विपक्षमा मतदान गर्यो ?
अन्तरिम संविधान भनेको कुन र के हो? यो संविधान आए पनि यसको आवश्यकता थिएन भनेर नै एक दुई ठाँउमा बोलेको थिएं, प्रेसले ठाँउ दिएन। बरु, 'अन्तरिम शासन विधान तयार गर्नुहोस्' भनेको थिएं। जे निर्णय पनि आफूले नगरेर संविधानसभाको जिम्मा छोड्नुहोस् भनेको हुँ। अन्तरिम संविधानमा पटक- पटक संशोधन हुँदा मान्नैपर्छ भन्ने जरुरी छैन।
SN. यसको मतलब संसदले घोषणा गरेको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाप्रति असहमत हुनुहुन्छ ?
यसमा दुई वटा बिषय छन्। लोकतान्त्रिक पद्धतिबारे हाम्रो असहमतिको प्रशनै उठ्दैन। संघीयताबारे पनि हाम्रो असहमति होइन। तर, त्यसबारे संविधानसभाले नै निर्णय गरे राम्रो हुन्थ्यो। र, संघीय व्यवस्थाको खिलाफमा हामी छैनौं। तर, गणतन्त्रको मुद्दामा जनताको अधिकारको हनन् भयो। यस्तो दिर्घकालीन महत्त्वको कुरा जनतामा छाडौं भन्ने हाम्रो कुरा हो। कसैको अधिकार काट्नु आवश्यक छ भने गर्नुहोस्। तर, दुरगामी परिणामका विषय जनतामा छाडिदिनुहोस् भन्ने हाम्रो धारणा हो। पार्टी यही कुरा अभिव्यक्ति भएको छ।
SN. जनताको अधिकार खोसियो भन्ने चिन्ता हो कि आफ्नो सिद्धान्त विपरीत नीति लादियो भन्ने असहमति हो?
पहिले त हामी सबै जनता हौं। जनताको अधिकार खोसिनु भनेको हाम्रो अधिकार खोसिनु हो। ठीक छ, पहिले हामीले अर्कै व्यवस्थामा काम गर्यौं। ४६ सालपछि मुलुकमा प्रजातन्त्र आयो। त्यसले हामी सबैलाई अधिकार दियो। अधिकार नेता र जनता सबैको हो। तर, 'मुडी' व्यवहार देखियो। कतिखेर के मुड चल्छ, रिस उठ्छ एउटा निर्णय गर्यो। अलिपछि फेरि अर्को निर्णय आउने। कुनै निर्णय पनि तर्कसंगत भएनन्।
संविधानसभा किन चाहियो? चुनावै नगर्ने हो भने त्यो पनि भन्नुपर्यो। मूल कुरा यही आफैं निर्णय गर्ने भए त्यत्रो रकम खर्चेर जनतालई किन दुःख दिने? भन्न चाहि सार्वभौम जनता हुन् भन्ने। संविधानसभाले गर्छ पनि भन्ने । खुरु खुरु निर्णय गर्दै जाँदा जनताले कति विश्वास गर्छन् भन्ने थाहा पाउनु पर्यो।
SN. सार्वभौमसत्ता सम्पन्न संसदले गरेको निर्णयलाई औचित्यहीन भन्न मिल्छ ?
सार्वभौममा म विवाद गर्दिन। तर, त्यसलाई कसले बनायो? राजा ज्ञानेन्द्रले बनाएको होइन? तपाईंहरू मान्नुहुन्छ भने मलाई आपत्ति छैन। तर, हो त?
SN. राजाज्ञानेन्द्रले ब्यूताएको प्रतिनिधिसभा त विघठन भइसक्यो नि ?
तपाईंले मलाई कुर्चिमा बसाएपछि म आफूखुसी घोषणा गर्दै जान सक्छु त ? जनताबाट निर्वाचित संसद् या प्रतिनिधिसभा या संविधानसभा मात्र सार्ब भौमसत्ता सम्पन्न हुन्छ ।
SN. तर, जनताको 'म्याण्डेट' त प्राप्त छ नि यो अन्तरिम विधायिकालाई?
के को म्याण्डेट? ठीक छ, त्यो बेलाको निरंकुशता विरुद्ध जनताको बलिदान भयो। तर, त्यो संघर्ष प्रजातन्त्रका लागि हो। जनताको अधिकार जनताले नै पाउनुपर्छ भन्ने हो। जे पनि जनआन्दोलनकै 'म्याण्डेट' भन्ने हो भने मैले केही मान्छेको विचार पढेको छु जसमा 'जनता राजा चाहन्छन्' भनिएको छ। त्यसो भए यो पनि त जनताको म्याण्डेट हो। राजा राख्न चाहने जनताले नै आएर आफ्नोमत अभिव्यक्त गर्न पाउनु पर्यो नि!
SN. जनता सातपार्टी विरोधमा थिए भने संसदबाट गणतन्त्र घोषणा हुँदा सडकमा उत्रने थिए नि?
जनताले तुरुन्त अभिव्यक्त नगरे पनि आफ्नोअधिकार खोसिएकोमा राजा ज्ञानेन्द्रको समयमा पनि मानेनन्। अब पनि मान्छन् भन्ने मलाई लाग्दैन।
SN. भनेपछि सातदलको एकाधिकारवाद विरुद्ध जनता सडकमा उत्रिन्छन्?
यसप्रति मान्छेहरूमा वितृष्णा बढ्दै गएको छ। र, विस्तारै बोल्न थालेका छन्। सुरुमा पर्खन्छन्। तर, लामो समयसम्मको भद्रगोल पर्खदैनन्।
SN. जनताको अधिकारको सम्मान गर्दै निर्णय अनुमोदन गर्ने जिम्मा संविधानसभालाई दिइएको छ नि, होइन ?
मैले यहाँबाट लण्डन जाने निर्णय गरें। टिकट पनि लिएँ। सबैकुरा सकेर मालिकलाई मेरो बोराविस्तारा एयरपोर्ट पुर्याइदेउ भन्छु भने यहाँ मालिक को हो? निर्णय गरिसकेपछि यसलाई अनुमोदनमात्र गरिदेऊ भनेर जनता या सांसदलाई भन्दा सार्वभौमसत्ताको कदर हुन्छ त?
SN. अहिले सातदलको निर्णय विरुद्ध जाने विकल्प जनतासँग पनि छैन नि हैन र ?
एउटा प्रजातान्त्रिक विकल्पको आवश्यकता यो मुलुकमा छ। यो अझैखडा भइसकेको छैन।
यसको मतलव अलि बुझिने भाषामा भनिदिनुहोस् न।
प्रजातान्त्रिक पद्धतिमा विपक्षी आवश्यक हुन्छ। अब सातदल एक ठाँउमा भइसकेपछि त्यसको विपक्षमा एउटा प्रजातान्त्रिक शक्ति आवश्यकता भएको छ।
SN. भनेपछि त्यस्तो शक्ति निर्माणको गृहकार्यमा हुनुहुन्छ?
हाम्रो चाहना छ। सोचाइ छ।
SN. यसको नेतृत्व कसले गर्छ ?
यही नै आएर बिग्रन्छ। प्रजातान्त्रिक विकल्प महत्त्व पूर्ण कुरा हो। नेतृत्व भनेको परिस्थिति अनुसार जसलाई अरूले अगाडि सार्छन् उसले लिने हो।
SN. वाम एकता विरुद्ध प्रजातान्त्रिक शक्ति एक हुनुपर्छ र त्यसको नेतृत्व गिरिजाबाबुले गर्नुपर्छ भन्नेकुरा पनि आएको थियो ? अहिले त्यो प्रयास जारी छ कि टुटिसकेको हो ?
साथीहरूले बोल्नु भएको हो। गिरिजा सातदल भित्रको प्रमुख भएपछि उहाँ त्यहीं अल्मलिएर बसिरहनु भएको छ। उहाँले नेतृत्व गर्ने कुरा आउँदैन।
SN. भनेपछि राजावादीहरू एक हुने ?
कहिलेकालाई राजावादी भन्नु भा' हो? अहिलेका कि ०४६ सालका? कि त्योभन्दा पनि पहिलेकालाई? राजावादी पनि बेला? बेलाका छन् नि!
कुनै न कुनै रूपमा राजा रहनुपर्छ भन्ने मान्यता भएका अहिलेका।
नेपालमा राजावादीभन्दा पनि एउटा परम्परावादी शक्ति छ। त्यसको संख्या कम छ भनेर नआँक्नुहोस्। तिनीहरू पशुपति दर्शनमा जान्छन्, बुद्धको दर्शन गर्छन् र विभिन्न ध्यान पनि गर्छन्। शिक्षक, सन्तमहन्तको सम्मान गर्छन्। श्राद्ध गर्छन्। यस्तो परम्पारवादी शक्ति छ, यो मुलुकमा। क्रान्तिमा भन्दा विकासमा विश्वास गर्ने बौद्धिकहरू पनि छन्। यी सबैले मान्यता पाउनुपर्छ। तपाईंहरूले देख्नु भएकै होला, ०४६ सालको परिवर्तनपछि केही दिन कसैले बोल्नै सकेनन्। तर, पछि जनता बोल्न थाले। कसैलाई एकदमै वितृष्णा र लापरबाही गर्नुहुदैन।
SN. प्रचण्डले राष्ट्रवादी राजावादीहरूलाई पनि समेटेर लैजानुपर्छ भनेको त्यही भएर हो त?
म उहाँको प्रवक्ता परिन। दोभाषे पनि होइन। यसको जवाफ उहाँले नै दिँदा राम्रो हुन्छ। तर, जो सत्तामा हुन्छ उसमा उदारता चाहिन्छ। सानातिना कुरालाई बिर्सिदिने उदारता सत्तामा रहेकाहरूमा हुनैपर्छ। त्यो भावना गिरिजाबाबुमा छ। सत्तामा त्यो उदारता भएन भने चल्दैन। इन्डियाले अंग्रेजहरूलाई हटाएर पनि गभर्नर जनरल अंग्रेजलाई नै राख्यो। शक्तिमा रहिरहने राजनीतिक वर्गका लागि उदारता चाहिन्छ। जालझेलले चल्छ भने त्यो ठीक हुँदैन।
प्रचण्डले भनेजस्तै राजा वरिपरिका राष्ट्रवादी माओवादीबीच एकता सम्भव छ?
उहाँले के विषयमा भन्नु भएको हो कुरै नुबझी व्याख्या गर्न मिल्दैन । माओवादी र हाम्रो पार्टीको सोचमा धेरै फरक छ। उहाँको उद्देश्य थाहा पाएको भए भन्न सजिलो हुन्थ्यो।
राप्रपाबीचको एकताको प्रसंग पनि थियो नि?
जसरी कांग्रेस फुट्यो र मिलिहाल्नु पर्यो, एक किसिमको सँगै बसेको मान्छेमा त्यस्तो हुन्छ। त्यही भएको हो।
पार्टी अध्यक्षको अधिनायक वादका कारण फुटेको भनिन्थ्यो, कसरी मिल्ने कुरा आयो?
उतिखेर के भनेको थियो त्यो याद भएन। तर, गरिसकेपछि आफ्नोकामलाई रक्षा गर्नुपर्छ। त्यसका लागि अर्कालाई दोष लगाउनै पर्यो।
पार्टी कता संविधानसभा अगाडि हुन्छ कि पछि ?
हेर्दै जाँउ। अहिले केही भन्न सकिने अवस्था छैन। कुरा चलिराखेको छ।
तपाईंका पार्टी पूर्व नेताहरू राजा जोगाउन सडक आन्दोलनमा लागेका छन्। त्यसमा तपाईंको समर्थन छ?
हाम्रो पार्टी त्यस्तो निर्णय गरेको छैन। तर, यो उहाँहरूको अधिकारको कुरा हो। यो एउटा 'टेस्ट' पनि हुन्छ। त्यसको परीक्षण हुन्छ। भोलि हुने चुनावको स्वरूप पनि प्रस्ट हुन्छ। सबैले आफ्नो अभिमत व्यक्त गर्न पाउनुपर्छ । भाषणमात्र गरेर प्रजातन्त्र हुँदैन।
चैतमा संविधानसभा चुनाव हुन्छ ?
भए बेस।
तपाईंले के देख्नु भा छ?
हामी त पहिला पनि हुन्छ नै भनेर बसिराखेका हौं। भए राम्रो।
कैयौं पटक प्रधानमन्त्री भइसकेको एउटा वरिष्ठ राजनीतिज्ञको हैसियतले तपाईंको विश्लेषण के छ ?
अहिले सबै लागि परे निर्वाचन भइहाल्छ कि भन्नेकुरा मेरो मनमा पनि छ । तर, हु“दैन कि भन्ने पनि छ ।
त्यो 'कि' चाहिँ किन?
अनपेक्षित घटना हुन्छन् यहाँ। अन्यौलको स्थिति छ। भोलि के हुन्छ भन्नेकुरा अहिले मुलुक चलाई राखेकाहरूलाई पनि थाह छैन। उहाँहरूले त जेठमा नै पक्का हुन्छ भन्नुभयो। त्यसपछि मंसिरमा पनि यो नहुने कुरा उहाँहरूलाई थाहा रहेनछ। हामी त बाहिरको मान्छे परियो।
दरबारले संविधानसभा विरोधी षड्यन्त्र गरिरहेको थाहा भएर तपाईं विश्वस्त नहुनु भएको हो कि?
होइन। कुनै ब्रिटिस राजनीतिज्ञले लेख्या छन्? जनता आक्रोशित हुन थाले भने कुनै सरकारले के गर्ने? पुरानो सरकारलाई तोड्ने। पटकौं पटक त्यही हुन्छ। मलाई दरबारले इत्यादि गरेको होला जस्तो लाग्दैन। देखेको पनि छैन।
तराईमा देखिएको असन्तुष्टिको लहर संविधानसभा चुनावको बाधक होइन ?
त्यही त कुरा मिलेन भने हुँदैन। माओवादीले अहिले माने पनि तराईमा हात हाल्न सकेन भने फेरि संविधानसभा हुँदैन। प्रतिनिधिसभाको त १०/२० सिट छाडे पनि निर्वाचन चल्छ । तर, संविधानसभाको चल्दैन। हरेक क्षेत्रमा निर्वाचन हुनैपर्छ।
राजासँग तपाईंको कत्तिको भेट हुन्छ ?
भएको छैन। इमान्दारी साथ भन्दा त्यही जन्मोत्सवको पार्टी भेट भएको थियो । त्यहाँ २/३ मिनेट भलाकुसारी भयो। त्यसपछि भेट छैन।
तपाईं राजा बुझेको मान्छे, गणतन्त्र घोषणामा राजाको प्रतिक्रिया के छ ?
मैले अनुमानको भरमा केही भन्नु हुँदैन। यो परिवर्तनको तत्कालै एक पटक राजालाई भेट्या छु। त्यसबेला सायद सबै भूतपुर्व प्रधानमन्त्रीहरुसँग भेटघाट भएको थियो। त्यसपछि सम्पर्क छैन। फेरि मैले पनि के भनेर भेट्ने? मसँग सुझावका कुराहरू पनि छैनन्।
राजाको नभए पनि दरबारिया सर्कलको के प्रतिक्रया पाउनु भएको छ?
पहिला शक्तिमा हुँदा एकजना सचिवमार्फत राजासँग कुराहरू ओहोर? दोहोर हुन्थ्यो। त्योभन्दा बढी त्यस्तो केही सम्पर्क हुँदैनथ्यो। मेरो यो अवगुण हो सरकारमा भएकासँग भेट गर्दिन। अहिले पनि अलग्गै बसिरहेको छु। गिरिजाबाबु, माधवजीहरूसँग पहिला बढी भेट हुन्थ्यो। उहाँहरू सत्तामा आएपछि चियापानमा बोलाएको बेला भेट हुन्छ।
राजाले गणतन्त्रको निर्णयलाई चुपाचाप स्वीकार्लान्? अथवा कुनै कदम चाल्लान्?
परिस्थिति यस्तो भएको छ कि केही अनुमान गर्न नै सकिदैन। म यसमा केही भन्न सक्ने स्थितिमा छैन। फेरि राजाको कुरा भन्नुभयो, सामान्य मानिसकै बारेमा त केही भन्न सकिदैन। तपाईं एकजना असल मान्छेलाई परिस्थितिले जे पनि बनाउँछ। यस्तो कुरा कसैले भन्न सक्दैन।
मुलुकको अवस्था कतातिर गइरहेको छ अहिले?
यो राम्रो दिशातिर अगाडि बढेको छैन। हाम्रो समस्या यथावत छन्। मैले संविधानसभा नहोस् भन्न खोज्या होइन। संविधानसभा हुनसाथ जम्मै समस्या समाधान हुनेवाला पनि छैन। त्यसको समाधानको लागि आवश्यक राष्ट्रिय एकता हो। सबै किसिमको सोचले एउटा निश्चित विषयमा राजनीतिक सहमति कायम गर्ने हो। त्यतापट्ट केही प्रयास भइरहेको छैन।
लामो समयसम्म सत्ता चलाउनु भयो। मुलुकको यो अवस्था हुनुमा आफुलाई कति जिम्मेवार ठान्नु हुन्छ ?
त्यो अर्काले भन्ने कुरा हो। मैले कहाँनेर गल्ती गरेँ, यस्ता कुरामा दामासाहीले सजाय भए म आफ्नोभाग तिरी दिन्छु।
अब राजनीतिबाट सन्यास लिने बेला भएन तपाईंले?
६० वर्षेदेखि राजनीति गर्दिन भन्ने मेरो भित्री इच्छा थियो। तर, यो क्षेत्रमा पस्न सजिलो निस्कन गाह्रो छ। कुनै न कुनै रूपमा कुनै साथीभाइले सहभागी गराइहाल्छ। तपाईंले भनेको कुरामा मैले प्रयास गरिरहेको छु। मनस्थिति बनाइरहेको छु। तर, यो राजनीतिमा भोलि के हुन्छ भन्न गाह्रो छ। मैले तपार्इंको सुझावलाई मनन् गरेको छु।