१ पूर्णसमानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको प्रस्तावको संवैधानिक र राजनीतिक हैसियत के हो ?
यसबारे दुईथरी अतिवादी विचार देखिएका छन्।एकथरी भन्दैछन् संसद्को प्रस्तावनै सम्पूर्ण हो।अर्काथरिले यति अबमूल्यन गदैछन् कि संसद्को निर्णय कुनै
; निर्णय नै होइन, त्यो निर्देशन कुनै निर्देशन नै होइन भन्दैछन्।यस्तो सोचले संसद्को राजनीतिक प्रस्ताव र संकल्पको अवमूल्यन गरेको छ।अर्कातिर संसद्बाट प्रस्ताव बहुमतले पारित भएपछि त्यसपछि स्वीकार गर्न अब सबै बाध्य छन् भन्ने सोच पनि अतिवादी हो।यस विषयमा पार्टी सरकारलाई फरक हिसाबले हेर्नुपर्दछ।सरकारको नेतृत्व गरिरहेका हुनाले नेपाली कांग्रेसलाई पनि नैतिक दबाब पक्कै परेको छ, तर सरकार नैतिक दबाबमा सीमित छैन।ऊ संसद्को अधिनमा छ।कांग्रेस प्रस्ताव विरुद्ध उभिएको हुनाले उ अल्पमतमा परेको देखियो।कांग्रेसकै नेतृत्वमा सरकार छ तर ऊ अल्पमतमा छ।यो उसको नैतिक संकट हो।यता सरकारसंग संसद्को आदेश लागू गर्नुको विकल्प छैन,कसरी लागू गर्ने भनेर छलफल गरिनुपर्छ ।
२ कांग्रेस र वामपन्थीबीच बढ्दै गएको दुरीको संकेत होइन त यो प्रस्ताव ? प्रस्तावलाई त्यसरी लिन मिल्दैन।समानुपातिक र गणतन्त्रविरुद्ध एमाले जानै सक्दैनथ्यो।अब विश्वासको कुरा,कांग्रेसप्रति अविश्वास निकै ठूलो हदसम्म बढेको देखिन्छ, विशेषगरि माओवादीको ।
३ अनि एमाले र कांग्रेस ? यी दुईबीच पनि त दुरी बढेन र ? अविश्वास पक्कै बढेको छ।कांग्रेसले राज्य संचालनका सिलसिलामा संयुक्त सरकारको संस्कृति अपनाएन।पुरानै पाराले एकदलीय शैली अपनाउने र त्यसमा हाम्रो बाध्यतात्मक सहमति खोज्ने काम भए।एमालेलाई माइनस गर्ने हदसम्म थ्रेट पनि दिएको हो, कांग्रेसले।हामी कांग्रेससंग विगत १७ बर्षेखि डिल गर्दै आएका छौं।हामीलाई उसको चरित्रको राम्रो जानकारी छ।तर, हामी लोकतान्त्रिक विधिले 'डिफेन्स' गर्न चाहान्छौं।उता माओवादीमा त्यस अनुरुपको धैय छैन।कांग्रेससंग मतभेद अचानक शुरु भएको होइन।मुलभुत कुरा वर्गचिन्तन र चरित्र हो, यथास्थितिवादी सोच हो।दरबार र सामन्ती तत्वसंग उसको सम्बन्ध हो।कांग्रेस सिद्धान्ततःप्रजातन्त्रवादी तर व्यवहारिक रुपमा एकाधिकारवादी ।
४ गठबन्धन सरकारको नेताको रुपमा गिरिजाप्रसाद कोइरालाको कस्तो मूल्यांकन गर्नुभएको छ ? उनका केही राम्रा पक्ष पनि छन्।उनले आँट नगरेको भए कांग्रेस गणतन्त्रमा जाने थिएन।कांग्रेस यहाँसम्म पनि उत्साहपूर्वक आएको होइन, घस्रीघस्री, रोइरोइ, डराइडराइ आएको हो म तपाईलाई एउटा प्रसंग सुनाउँछु।११ औं महाधिबेशनका बेला मैले कांग्रेसलाई गणतन्त्रमा आउनुस्, राजतन्त्रको मोह त्याग्नुस भन्दा गिरिजाप्रसादको कुरा एकदम 'इरिटेटिङ' थियो।तैपनि उनी आए।तर, आमूल परिवर्तनको दिशामा उनी गएनन्,जाँदैनन्।उसले सैद्धान्तिक प्रतिबद्धता समेत व्यक्त गर्न सक्छ, तर व्यबहारमा त्यसो गदैन।कांग्रेस बुर्जुवा उदारवादी शक्ति हो जो सीमित सुधारको दायरामा त आउन सक्छ तर आमूल सुधारको तहमा जान सक्दैन।आन्दोलनलाई एउटा विन्दुसम्म पु-याउन महत्वपूर्ण भूमिका खेले।माओवादीसंग शान्तिवार्ताको क्रममा पनि उनको भुमिका छ।गठबन्धनको नेताको रुपमा क्रमशः राजाको शक्ति कटौती गर्दै जाने कुरामा पनि उनको योगदान स्वीकार गर्नुपर्छ।तर, मैले पहिल्यै भने कांग्रेस यहाँसम्म इच्छाले आएन।हाम्रा बीचमा पनि केही समस्या आए।राजाले एकपटक प्रधानमन्त्रीको टेन्डर खोलेका बेला पाँच दलबीच सहमति भएको थियो।राजासंग भेट्नै परे सबै दलले एकसाथ भेट्ने, एक्लाएक्लै नभेट्ने।तर, उहाँले एक्लै राजालाई भेट्नुभयो ।
५ त्यस्ता प्रसंग अरु पनि छन् ? जनआन्दोलन उत्कर्षा पुगेका बेला ८ बैशाखमा शाही घोषणा आयो।पार्टीलाई सरकार बनाउन राजाले आव्हान गरे।हामीले शासनाधिकार, राजकीय सत्ता र सम्प्रभुत्ता जनताका हातमा नआएसम्म राजासंग कुनै कुरा हुँदैन भनेका थियौं।राजाको घोषणामा यी कुरा प्रष्ट थिएनन्।त्यसलाई मान्ने कुरै थिएन।हामीबीच छलफलमा कोइरालाले केही भन्नुभएन।यति भन्नुभयो-शेरबहादुरसंग छलफल गर्नुस् न।मलाई प्रदिप गिरीले फोन गरेर भने लौ न, अडान लिनुप-यो, हाम्रा नेताहरुले खुट्टा कमाउलान् जस्तो छ।शेरबहादुरजी संग मेरो कुरा भयो फोनमा।देउवाको जोड शाही घोषणा स्वीकार गरौं भन्ने थियो।मैले नमानेपछि उनले धम्क्याए,अब पनि नमान्ने हो भन्ने राजाले रक्तपात मच्चाउछन्, त्यसको जिम्मेवारी तपाईले लिनुपर्छ, लिनुहुन्छ ? प्रदिप गिरी साक्षी छन्।देउवा र कोइरालाबीच सल्लाह भएरै उनले मलाई त्यसो भनेका हुन् भने ८ बैशाखमै कोइरालाको खुट्टा कामिसकेको थियो।६ बैशाखमा म जेलबाट छुटेका थिएँ।७ गते मलाई लाग्यो देशमा ठूलो रक्तपात हुनेभो।एकदम अस्थिर समय थियो त्यो।राजाका खुट्टा काम्न थालिसकेको थियो।आन्दोलनकारीको मनोबल बढेको थियो।त्यस्तो बेला रक्तपातको सम्भावना बढि थियो।हामीले रिङरोड घेर्ने कार्यक्रम राखेका थियौ।मैले आर्मी चिफलाई फोन गरेँ र आज हामी रिङरोड कब्जा गछौं, त्योभन्दा भित्र आउन्नौं।तपाईहरु रिङरोडमा बल प्रयोग नगर्नोस् रक्तपात भयो भने राम्रो हुन्न, तपाईका राजाको सैनिक पोशाक खोसिँदैछ ख्याल गर्नुस् भनेँ।उनले संयमित जवाफ दिए, यहाँहरुले पनि संयमित हुन भनिदिनुप-यो कार्यकर्तालाई, हाम्रा तर्फाट बल प्रयोग हुदैन।त्यसपछि मैले सशस्त्र प्रहरीका चिफ सहवीर थापालाई फोन गरेँ।उनले अलि बटारिएको कुरा गरे।आदेश आदेश हो हजुर, सरकारसंग कसैले जोरी खोज्छ भने बाँकी राखिन्न भने।मैले भने, तपाईका राजाले २/४ दिनमा घुँडा टेक्दैछ।तपाई जोगाउन सक्नुहुन्छ ? उनले जवाफ दिए हामी यस्ता कुरा जान्दैनौं।आदेश भनेको आदेश हो पालना हुन्छ।मैले रिसाउदै भने- अब तिमी राजाको शासन जोगाउन सक्दैनौं हेर, भनेर फोन राखिदिएँ।अमेरिका, ब्रिटिश, भारतीय र नर्वेजियन राजदुतले पनि मलाई फोन गरे।यी चारवटैले शाही घोषणाको उपयोग गर्न धेरै 'कन्भिन्स' गर्ने कोशिस गरे तर मैले मानिनँ।त्यसैले मैले देउवालाई भने, कसको हिम्मत छ रक्तपात मच्चाउने ? तपाईले शाही घोषणा राम्ररी पढ्नु भएको छ ? तपाईले जनतालाई 'कन्भिन्स' गर्न सक्नुहुन्छ ? भोलिपल्ट सातदलको बैठकमा युरापेली युनियनको टोलीनै पुग्यो।कांग्रेसले ठिकैठिकै निर्णय गर्यो।कोइराला सिधै देखिनुभएन।शेरबहादुरसंग कुरा गर्नुस् न भन्नुभयो।त्यो रहेछ शेरबहादुरको कुरा।कोइरालाले खुट्टा कमाएको बुझिन्थ्यो। राजदुतसंग मैले नै बोलें।त्यसबेला धारा १२७ बमोजिम संसद पुनर्स्थापना गर्ने कुरा पनि थियो।हाम्रै दबाबले आन्दोलन बैशाख ११ सम्म पुग्यो।जनआन्दोलनको सफलतापछि मैलै नै उहाँ (कोइराला) लाई प्रधानमन्त्री सिफारिस गरेको हुँ, सातदलको बैठकमा।अमिक शेरचनले मलाई सोध्नुभयो, तपाईलाई प्रधानमन्त्री बन्न मन छ ? मैले के जवाफ दिनु ? मन छ भन्नु ? त्यो कुरा भएन।देउवा पछि मसंग झोक्किए, तपाईलाई किन हतार गिरिजाप्रसाद भनेर बोली हाल्नुपरेको भन्दै।अब कोइरालाको मूल्यांकनको कुरा।१२ सुत्रिय बनाउने कुरामा पनि कोइराला सकारात्मक नै हो बरु देउवा असजिलो मान्दै हुनुहुन्थ्यो।अहिले तिनै कोइरालाको काम कारबाही समाबेशी भएन।जताततै हस्तक्षेप, अरुका मन्त्रालयमा कामै गर्न नदिने।सबैतिर कांग्रेसीकरण भयो।उहाँले संविधानसभाको चुनाब गर्न त्यति तत्परता पनि देखाउनु भएन।त्यसमा अलिकति स्वास्थ्यको कुरा होला,अलिकति उमेरको, धेरै कायैशैलीको।फेरि हामीकहाँ अन्तराष्ट्रिय अनुभवका नाममा मान्छेहरुले दिमाग भुटे ।
६ संसदमा मतदानका लागि त प्रधानमन्त्री आफैंले प्रेरित गर्नुभएको होइन ? उहाँलाई लागेको थियो- बामपन्थी मिल्दैनन्, कांग्रेसको सबैभन्दा ठुलो संख्या देखिन्छ।तर,अहिले कांग्रेसलाई ठृुलो संकट परेको छ।शेरबहादुरले त हामीले संसोधन प्रस्ताव दर्ता गर्ने वित्तिकै माओवादी र एमालेको सल्लाह हो की क्या हो भनेका थिए।मैले हाम्रो प्रस्ताब पढ्नुस् यसैलाई साझा सहमतिको प्रस्ताव बनाएर लैजानुस् भनेँ।तर, कांग्रेस मानेन।ऊ त बामहरु फेल भएको हेर्न चाहान्थ्यो।तर हामीले बुद्धि पु-यायौँ ।
७ अब प्रधानमन्त्रीका रुपमा गिरिजाप्रसाद कोइरालाको दिनगन्ती शुरुभएको हो ? म त बीचमा बसेर बोल्छु।मैले हो भन्ने कुरा पनि भएन, होइन भन्ने कुरा पनि भएन।हो भन्यो भने प्रधानमन्त्री पद दाबी ग-यो भन्छन्।नत्र जोगाउन खोजे जस्तो हुन्छ।मैले मिडियालाई भन्ने गरेको छु,यो प्रश्न मलाई नसोध्नोस्।मैले बोल्ने बेला भएको छैन।मैले कि हट्नुपर्छ भन्नुप-यो। तर कुरा के हो भने संसद्को आदेशको कार्यान्वयन र संविधानसभाको चुनाबका लागि कसैले त्याग गर्नुपर्छ भने गर्नुप-यो ।
८ कांग्रेसले संसद्को आदेशको कार्यान्वयन गर्ला ? मैले त गाह्रो देखिरहेको छु। गाह्रो भएपछि 'डेडलक' हुन्छ।विकल्प सीमित छ।अस्ति मैले डा.बाबुराम भर्ट्टर्राईलाई सोधे- १ बर्षभित्र सत्ता कब्जा गदैहुनुहुन्छ रे मैलै रिपोर्ट पाएको छु।उहाँले भन्नुभयो-त्यस्तो होइन।कुनै साथीहरुले जोसमा बोल्नुभयो होला।अब शान्तिपूर्ण रुपमा जानुपर्छ।मैले फेरि सोधेँ- तपाईहरु साच्चै चुनाबमा नजाने हो ? होइन, गिरिजाप्रसाद हट्नुपर्छ र नयाँ सहमति खोज्नुपर्छ भन्नुभयो ।
९ देश वाम ध्रुविकरण तर्फगएको हो ? कांग्रेसलाई माइनस गरेर अहिले देश अगाडी बढ्दैन।संविधानसभाको चुनाव गरेर र नयाँ संविधान पारित गरेर चुनाब नगरेसम्म सातदलको एकता कायम रहनु पर्छ ।
१० सबैलाई लाग्न थालेको छ, अब राजनीति झन् जटिल मोड तर्फमोडिएको छ तपाई के भन्नुहुन्छ ? मुलुकलाई अन्यौलको अबस्थामा राखिरहनुहुन्न।मंसिरभरिमा निष्कर्षा पुग्नैपर्छ।यो महिनाभरिमा राजनितिक सहमति कायम गर्न सके चैतसम्ममा चुनाव गर्न सकिन्छ। माओवादीका राजनीतिक मागलाई सम्बोधन गरिनुपर्छ तर उनीहरुलाई अपहरण शोषण, जबजर्स्र्ती चन्दा, सरकारी राजस्व कब्जा गर्ने, समानान्तर सरकारको रुपमा मुद्धा फैसला गर्ने, अरु पार्टी गतिविधिमा रोक लगाउने जस्ता गतिविधिमा सुधार नगरे उनीहरु अझ बद्नाम हुनेछन्।राजनीतिक एजेन्डा दलहरुबीच सहमति र चुनाबको प्रक्रियाबाट टुंगो लगाउन चाहन्छ, फेरि कांग्रेस गणतन्त्रमा जानै चाहन्न भने हामीलाई के टाउको दुखाई ? बर्ढार्छन् जनताले। कांग्रेससंग मगन्ते थैलीमा गणतन्त्र किन माग्ने ?मलाईमाओवादीकोयोकुराचित्तबुझेकोछैन।